×

गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर जाँदै गरेको ट्याङ्कर दुर्घटना : दुईको मृत्यु, दुई जना गम्भीर

images

धादिङ । धादिङको गल्छी गाउँपालिका–३, गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा पानी ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान करिब २ बजेतिर आदमघाटबाट गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याङ्कर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट ५-६ सय मिटर तल खसेको हो ।

दुर्घटनामा धादिङ गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरू १९ बर्षका सिरिश चेपाङ र १७ बर्षका सुरेश चेपाङ रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी निरीक्षक राजुप्रसाद ढकालको नेतृत्वमा ७ जना र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक राजकुमार खड्काको नेतृत्वमा ६ जनाको टोली खटिएको थियो । घाइतेहरूको उद्दार गरी अस्पताल पुर्‍याइएको छ भने ट्याङ्कर चालक २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ट्याङ्कर ब्याक गर्ने क्रममा सडक साँघुरो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार १४ फागुन २०८१ ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया