काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशीमा पेस गर्न आदेश दिएको हो।
माघ २५ गतेको पेशीमा उनलाई कति सजाय हुने भन्ने फैसला हुनेछ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । २०८० जेठ २१ गते उनीविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दर्ता भएको थियो। त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए। राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।
यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए। बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका थिए। तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उद्देश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ।
प्रतिक्रिया