बुटवल। पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिकाे छुनछेक बहस आज पनि जारी रहने भएको छ। बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ।
सरकारी वकिलको तर्फवाट बहस सकिएको छ। लामिछानेकोतर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आजपनि उनी अदालतमा उपस्थित भएपछि बहस सुरू हुनेछ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलाे पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, साे दिन पछि हाजिरी जमानीमा रिहा भइरहेका छन्।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिँदै आएको छ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्। बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।
प्रतिक्रिया