×

नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर

images

काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । साउदीको रियादमा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन् । 

एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा तयार पारिएको थियो । गत भदौ १३ गते बसेको मन्त्रीपरिषद् बैठकले सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण सरकार ढलेपछि सम्झौतामा हस्ताक्षर गर्नमा ढिलाई भएको हो ।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।

यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत हुने विश्वास गरिएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ।

साउदीमा हाल श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापरवाही गर्ने गरेको जस्ता समस्या लिएर दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत वर्ष आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले साउदीका लागि श्रम स्वीकृति (पुन: श्रम स्वीकृतिसहित) लिएका थिए । भने अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा एक लाख ४१ हजार ५०२ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृतिसहित) लिएर साउदी गएका थिए ।


 

सोमबार १३ माघ २०८२ १०:४० AM मा प्रकाशित

प्रतिक्रिया