मिथिलामा आजदेखि औपचारिक रूपमा चारदिने छठ पर्व सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्व मानिने छठका लागि जनकपुरधामका विभिन्न घाटहरू अहिले पूजाका तयारी र सजावटमा व्यस्त छन् ।
जनकपुरका गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुषसागर, मटकोरवा पोखरीलगायतका घाटहरूमा अहिले सफाइ, पण्डाल निर्माण र बत्ती सजावटको काम अन्तिम चरणमा पुगेको छ ।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष पनि विगतका वर्षहरूझैँ गङ्गासागरको आधा भागमा आकर्षक सजावट गरिएको छ । उनका अनुसार घाटमा सरसफाइदेखि सजावटसम्म विगतका वर्षभन्दा अझ राम्रो व्यवस्था मिलाइएको छ । छठ पूजाका लागि यस वर्ष प्रतिअघ्र्य ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।
उनले भने, “सबैले शुल्क तिर्नुपर्छ भन्ने होइन, जसले तिर्दैनन्, उनीहरूले पनि यहाँ अघ्र्य राख्न पाउँछन् । श्रद्धालु भक्तजनबाट संकलित रकमले सजावट र व्यवस्थापनको खर्च निस्कन्छ ।”
गङ्गासागरमा हाल पण्डाल टाँग्ने काम अन्तिम चरणमा पुगेको छ भने झिलिमिली बत्ती टाँग्ने तयारी भइरहेको छ । त्यहाँ तीनवटा समितिहरूले मिलेर सजावटको काम गरिरहेका छन् ।
यस्तै, अरगजासर पोखरीमा छठ घाट निर्माण र सजावटको जिम्मा लिएका समितिका सचिव वीरेन्द्र कर्णका अनुसार दसैँ सकिएलगत्तै तयारी सुरु गरिएको हो । उनले अहिले सफाइ र सजावटको काम तीव्र गतिमा भइरहेको जानकारी दिए । यो पोखरीमा हिन्दू मात्र नभई मुस्लिम समुदायका श्रद्धालुहरूले पनि छठ पूजा गर्ने परम्परा रहेको छ ।
सुरक्षा व्यवस्थाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ । अरगजासर पोखरीमा यस वर्ष करिब पाँच हजारभन्दा बढी अघ्र्य रहने अनुमान गरिएको छ ।
मिथिलाञ्चलमा मनाइने छठ पर्व पूर्ण रूपमा घरेलु उत्पादनमा निर्भर रहने परम्परा रहेको छ । आफ्नै खेतबारीमा उत्पादन भएको गहुँ, चामललगायत अन्नको पिठोबाट छठका सामग्री तयार गरिन्छ । यसैबीच जनकपुरधामका बजारहरूमा अहिले बाँस र माटोबाट बनेका सामग्री खरिद गर्न भीड लागेको छ । छठका लागि बाँसका छिट्टी, नाङ्लो, कनसुपती, र माटोका घैँटा, हात्ती, सूप आदि वस्तुको बिक्री–वितरण चहलपहल बढेको छ ।
चारदिनसम्म चल्ने यो पर्व आजको ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो । भोलि आइतबार ‘खरना’ गरिनेछ, जसअन्तर्गत व्रतधारीले दिनभर उपवास बसेर बेलुकी खीर चढाएर खाने परम्परा छ । सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पर्व समापन गरिनेछ ।
छठ पर्वको तयारीसँगै मिथिलाका घाटहरू झिलिमिली बत्ती र भक्तजनहरूको भीडले अहिले उज्यालो र उत्सवमय बनेका छन् ।
प्रतिक्रिया