×

विश्वकप लिग-२ को पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने

images

काठमाडौं। आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ। आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने लिग-२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो।

लिग-२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ। नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ।

लिग-२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल कात्तिक ९ आइतबारदेखि १९ गते बुधबारसम्म युएईमा हुँदैछ। नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्दैछ। दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग भिड्ने तालिका छ।

विश्वकप लिग-२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ। २० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

शनिबार ९ कात्तिक २०८२ १०:१६ AM मा प्रकाशित

प्रतिक्रिया