काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्क गरी राखिएको विद्युतीय कारभित्र एक महिला जलेको अवस्थामा मृत फेला परेकी छिन्। शनिबार दिउँसो बा ए ई ०४१० (BA E 0410) नम्बरको ईभी कारको पछाडिको सिटमा शव फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतक महिला तारकेश्वर नगरपालिका–९ शुभकामना चोक बस्ने ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा 'मर्चेन्ट हेड' का रूपमा कार्यरत थिइन्।
पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ बजेदेखि नै कसैको सम्पर्कमा थिइनन् र आफन्तहरूले उनको खोजी गरिरहेका थिए।
शनिबार दिउँसो करिब १ बजे सो विद्युतीय कारको पछाडिको सिटमा रिजालको शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोलीले पुगेर प्राविधिक तथा फरेन्सिक अनुसन्धान सुरु गरिसकेको छ। कारभित्रै विभत्स अवस्थामा शव फेला परेकाले यो दुर्घटना हो वा हत्या/आत्महत्या भन्नेबारे प्रहरीले सबै कोणबाट सूक्ष्म अनुसन्धान अघि बढाएको छ।
शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज पठाइएको छ।
प्रतिक्रिया