×

समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण र आपसी सहयोग आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

images

काठमाडौँ, १० असार: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र आपसी सहयोगको महत्वमाथि  जोड दिनुभएको छ । 

इरानको राजधानी तेहरानमा आज सम्पन्न एसिया सहयोग संवाद (एसिडी) को १९औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले एसिडी क्षेत्रीय र बाह्य प्रभाव पार्ने दबाबका मुद्दामा खुला र परामर्शदायी संवादका लागि एसियाव्यापी  क्षेत्रीय मञ्चका रूपमा विकसित भएको उल्लेख गर्नुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो सम्बोधनमा क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको बलियो प्रतिबद्धता दोहो¥याउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले विकास, दिगोपन र समृद्धिको साझा उद्देश्यसहित दिगो विकास लक्ष्य हासिल गर्न एसीडी भिजन २०३० र एसीडी खाका २०२१-२०३० कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

उहाँले कोभिड–१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भूराजनीतिक प्रतिद्वन्द्वीका कारण उत्पन्न चुनौतीबारेमा प्रकाश पार्नुभएको थियो । उहाँले थप एकीकृत, लचिलो र समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र आपसी सहयोगको महत्वलाई पनि जोड दिनुभएको थियो । 

बैठकको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले इरानका कार्यवाहक विदेश मन्त्री डा अली बघेरी, म्यानमारका उपप्रधान तथा विदेश मन्त्री उ थान स्वे, बहराइनका विदेश मामिला मन्त्री डा अब्दुललातिफ बिन रसिद अलजायानी, कुवेतका विदेश मामिला मन्त्री अब्दुल्ला अली अल–याह्या, साउदी अरेबियाका उपविदेश मामिला मन्त्री वालिद बिन अब्दुल करीम अल खराईजी, रूसी सङ्घका उपविदेश मामिला मन्त्री आन्द्रेई रुदेन्कोसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै क्षेत्रीय र विश्वव्यापी मुद्दासहित पारस्परिक हितका विविध विषयमा छलफल गर्नुभएको थियो ।      

बैठकले एसिया सहयोग संवाद सचिवालयको कार्यप्रणालीका लागि मार्गदर्शक सिद्धान्त र एसिडी सदस्यहरूबीच सहयोगको रूपरेखा प्रदान गर्ने र यसको सचिवालयको संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने प्रक्रियाका नियम पारित गरेको छ ।

सन् २०१६ देखि एसिया सहयोग संवाद (एसीडी) को सदस्यका रूपमा नेपाल अन्य एसियाली सदस्य राष्ट्रहरूसँग आपसी लाभ र पूरकताका विभिन्न क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले संलग्न हुँदै आएको छ ।  

उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ तेहरानस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावासले आयोजना गरेको  प्रवासी नेपालीहरुसँगको अन्तरक्रियामा पनि सहभागी हुनुभएको थियो । सो अवसरमा उहाँले नेपाल सरकारका सम्बद्ध निकायहरुमार्फत प्रभावकारी र समयसापेक्ष कन्सुलर सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो । 

उपप्रधानमन्त्री श्रेष्ठ आजै तेहरानबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको  जनाइएको छ । 

मङ्गलबार ११ असार २०८१ ०७:०८ AM मा प्रकाशित

प्रतिक्रिया