×

निर्मला पन्तको हत्याराको खोजी जारी छः गृहमन्त्री

images

काठमाडौँ, १० असारः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराको खोजी जारी रहेको बताउनुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “अपराधको अनुसन्धान र अभियोजन गृह मन्त्रालयको प्राथमिकतामा छ । निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउन आवश्यक कार्य भइरहेको जानकारी सम्मानित सदनमा जानकारी गराउँछु ।”

    उहाँले गिरिबन्धु टि–स्टेटलगायतका विषयमा यदि कानुन उलङ्घन भएको छ भने सो विषयमा आवश्यक अनुसन्धान हुने बताउनुभयो । उहाँले सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुविधा कम भएको उल्लेख गर्नुहुँदै स्रोतसाधनको सीमितताका कारण समस्या पूर्णरुपमा समाधान गर्न नसकिए पनि भविष्यमा थप स्रोतसाधनले सुविधा सम्पन्न गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । 

    उहाँले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न क्षेत्रगतरूपमा निकायगत जिम्मेवारी तोकिएको बताउनुभयो । “सबै सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा रहेको र केन्द्रीय तहमा कमाण्ड पोष्ट गठन गरिएको छ”, उहाँले भन्नुभयो ।

    उहाँले खुला कारागारसम्बन्धी कानुनी पूर्वाधारको मस्यौदा आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी पेस गरिने जानकारी दिनुभयो । लागुऔषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमानाकामा चेक जाँच कडाइ गरिएको उहाँको भनाइ थियो । मन्त्री लामिछानेले अध्यागमन सुधारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान कक्षतर्फ चार वटा नयाँ डेस्क थप गरिएको बताउनुभयो ।

मङ्गलबार १२ असार २०८१ ०८:२३ AM मा प्रकाशित

प्रतिक्रिया