×

नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुन्छ- गृहमन्त्री नारायणकाजी श्रेष्ठ

images

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्नलाई कानुनबमोजिमको कारबाही हुने बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार ठगी, संगठित अपराध, राज्यद्रोह र किर्तेको आधारमा आफ्ना नागरिकलाई शरणार्थी बनाउनेलाई कारबाहीका लागि तयार रहेको बताएका हुन् ।

‘नेपाली नागरिकहरुलाई अनागरिक बनाएर अर्काको देशमा शरनार्थीको रुपमा पठाउने र सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले काम गरिरह्यो । त्यसको अनुसन्धान गर्दै त्यसमा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएको कुरा सबैलाई अवगत भइसकेको छ । यो ठगी, संगठित अपराध, राज्यद्रोह र किर्ते यस प्रकारको गतिविधिहरुलाई दण्डित गर्ने राज्यलाई त्यसबाट मुक्त बनाउने दिशातिर अगाडि बढाउनका निम्ति ठोस पहल कमदी अगाडि बढाइएको छ,’– उनले भने । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरु सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाण्डौं जिल्ला अदालतले आदेश दिइसकेको छ ।

पहिलो चरणको अनुसन्धान पूर्ण नभएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई निर्देश गरेको छ ।
दोस्रो चरणको अनुसन्धानपश्चात तथ्य र प्रमाणका आधारमा थप कामकारबाही हुने गृहमन्त्री श्रेष्ठले बताए ।

अनुसन्धनपछि केही पात्रहरुलाई अदालतमा अभियोजनको प्रक्रियामा अगाडि बढिरहेको र उनीहरु पुर्पक्षका लागि थुनामा रहेको स्मरण गर्दै उनले तथ्य र प्रमाणको आधारमा कारबाही हुने बताए । उक्त प्रकरणमा अनुसन्धानको थप प्रक्रिया अगाडि बढिनै रहेको उनको दाबी छ ।

आइतबार​ १० असार २०८० ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया