×

रास्वपा महाधिवेशनः पहिलो चरणको मतदान सकिए लगत्तै पदाधिकारी चयनको दोस्रो चरण सुरु हुने

images

काठमाडौँ/चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पहिलो चरणको मतदान प्रक्रिया जारी रहेको छ। चितवनको भरतपुरस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गएराति १२:३० बजेदेखि विद्युतीय भोटिङ मेसिन (EVM) मार्फत मतदान सुरु भएको हो।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रारम्भिक रूपमा मतदानको समय बिहीबार मध्याह्न १२:०० बजेसम्मका लागि निर्धारण गरिएको छ। महाधिवेशन स्थलमा प्रतिनिधिहरूले इलेक्ट्रोनिक मेसिनमार्फत उत्साहजनक रूपमा मतदान गरिरहेका छन् र अहिलेसम्म १ हजार ६ सयभन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

रवि लामिछाने निर्विरोध निर्वाचित, ९९ सदस्यका लागि भिडन्त

महाधिवेशनमा पार्टी सभापति पदका लागि रवि लामिछानेको मात्र एकल उम्मेदवारी परेकाले उनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) वरिष्ठ नेतामा मनोनीत हुने निश्चित भएको छ।

पहिलो चरणको यो मतदान मुख्य गरी ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि भइरहेको हो। उक्त ९९ पदका लागि कुल ३८४ जना उम्मेदवार चुनावी मैदानमा छन्। चुनावी प्रतिस्पर्धालाई दुई वटा क्लस्टरमा विभाजन गरिएको छ:

  • खुलातर्फ: ६४ पदका लागि २१० जना
  • भूगोल (प्रदेशगत) तर्फ: ३५ पदका लागि १७४ जना (प्रत्येक प्रदेशबाट ५ जनाका दरले)

९ मन्त्री पनि चुनावी मैदानमा

रास्वपाको संशोधित विधानअनुसार पहिलो चरणमा केन्द्रीय सदस्यमा निर्वाचित हुने ९९ जनाले मात्र दोस्रो चरणमा पदाधिकारीका लागि उम्मेदवारी दिन पाउने व्यवस्था छ। यही प्रावधानका कारण सरकारमा रहेका रास्वपाका ९ जना बहालवाला मन्त्रीहरू केन्द्रीय सदस्य बन्न तीव्र प्रतिस्पर्धामा उत्रिएका छन् भने ६ जना मन्त्रीले यस चरणमा उम्मेदवारी दिएका छैनन्।

मतदान सकिएको दुई घण्टाभित्रै नतिजा आउने

डिजिटल प्रविधि र विद्युतीय भोटिङ मेसिन (EVM) को प्रयोग गरिएकाले पहिलो चरणको मतदान सम्पन्न भएको दुई घण्टाभित्रै मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणको नतिजा आउनासाथ दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु हुनेछ। दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू सङ्घीय महाधिवेशन प्रतिनिधिहरू मिलेर उपसभापति, महामन्त्री लगायतका पार्टीका अन्य शीर्ष पदाधिकारीहरू चयन गर्ने कार्यतालिका रहेको छ।

रास्वपाको संशोधित विधानअनुसार कूल १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमध्ये ९९ जना निर्वाचनबाट आउनेछन् भने बाँकी सदस्यहरू पछि सभापतिद्वारा मनोनीत गरिनेछन्।

बिहीबार ११ असार २०८३ १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया