×

चुनाव र रुस–युक्रेन युद्धका कारण पाठ्यपुस्तक छाप्न सकेनाैँ : जनक शिक्षा

images

विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । 

देशभर पाठ्यपुस्तकको अभाव भइरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाइ गरी विद्यालयहरुमा पठाउन नसकिएको स्पष्टीकरण दिनुभएको हो । 

आज बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले भन्नुभयाे, ‘कागज आपूर्ति समयमै हुन नसक्दा पाठ्यपुस्तक छपाइमा समस्या भयाे । हाम्रो कार्यतालिकाअनुसार चैतको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने थियो । तर बीचमा रुस–युक्रेन युद्धका कारण समयमै कागज आउन सकेन । युद्धकाे असरले विश्वभर नै कागजको हाहाकार भयो । पालिका चुनावले पनि छपाइमा प्रभाव पार्‍याे ।’

प्रबन्ध निर्देशक झाले अब भने कागजको आपूर्ति भइसकेकाले असारको पहिलो हप्ताभित्र देशभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसक्ने प्रतिबद्धता पनि समितिमा व्यक्त गर्नुभयो । त्यसका लागि गएकाे जेठ ९ गतेदेखि पाठ्यपुस्तक ढुवानीकाे काम सुरु गरिएको र एक हप्ताभित्र दुर्गम हिमाली तथा पहाडी जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइने पनि उहाँकाे भनाइ छ । 

बुधबार ११ जेठ २०७९ ०३:०९ PM मा प्रकाशित

प्रतिक्रिया