×

रुसी लडाकु ट्याङ्क युक्रेनको राजधानीबाट २० माइल नजिकै आइपुगे

images

काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभमा शुक्रबार बिहानैदेखि बमबारी र क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी बमबारीपछि किभको आकाश आगो र धुवाँको मुस्लोले ढाकिएको छ ।

युक्रेनको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोगमा रुसले प्रहार गरेको एक क्षेप्यास्त्र आकाशमै ध्वस्त पारेको बताएको छ । तर एउटा क्षेप्यास्त्र भने आवासीय भवनमा खसेको सरकारको भनाइ छ ।

त्यस्तै, एसयू-१७ नामक आफ्नो लडाकु विमान खसालिएको पनि युक्रेनले दाबी गरेको छ ।

यसैबीच, रुसी सेनाका लडाकु ट्याङ्क किभतर्फ अगाडि बढिरहेको बेलायती समाचार माध्यमले जनाएका छन् । डेली मेलका अनुसार रुसी ट्याङ्क राजधानी किभबाट २० टाढा मात्रै रहेका छन् ।

पछिल्ला विवरण सुन्दा निकै शक्तिशाली रुसी सेनाविरुद्ध युक्रेनको सेना निरीह जस्तै बनेको छ । किनभने त्यहाँ केबल १२५ वटा मात्रै युद्ध गर्न सक्ने विमान छन् जबकि रुसँग १५ सयभन्दा बढी लडाकु विमान छन् । यही कारण अमेरिकी अधिकारीले आइतबारसम्म राजधानी किभ रुसको कब्जामा आउने चेतावनी दिइसकेका छन् ।

महाशक्तिविरुद्ध आफूलाई एक्लै छोडिएको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मुलुकलाई  ‘कायर’ को संज्ञा दिएका छन् । उनले रुसी हमलाको पहिलो दिन मारिएका १३७ जनालाई ‘हिरो’ भन्दै आफू अन्तिमसम्म राजधानीमै बस्ने बताइसकेका छन् ।

‘उनीहरूले मानिसहरूलाई मारिरहेका छन् र शान्त सहरलाई सैन्य निशाना बनाइरहेका छन्’ जेलेन्स्कीले एक भिडियो सन्देशमा भने, ‘यो गलत हो र यसलाई कहिल्यै क्षमा गरिने छैन ।’

‘हामीलाई हाम्रो राष्ट्रको सुरक्षा गर्न एक्दै छाडिएको छ’ उनले थपे, ‘हामीसँगै लड्न कोही तयार छ ? मैले त कोही पनि देख्दिनँ ।’

युक्रेनलाई नेटो सदस्यता दिन सबै डराएको पनि जेलेन्स्कीको भनाइ थियो ।

 

शुक्रबार​ १३ फागुन २०७८ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया