×

सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी आन्तरिक छलफलमा

images

काठमाडौं । सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो । 
बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा केन्द्रीत रहेकाो एक नेताले बताए । ती नेताका अनुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल हुनेछ । छलफलमा एमसीसीको विषयमा माओवादीले सहयोग गर्न नसक्ने प्रचण्डले बताएका थिए भने अब आ–आफ्नै बाटो लाग्नेबारे निष्कर्ष निकालिएको थियो । 

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बिहीबार देउवा प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरु आआफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए । ‘ प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच भएको छलफलपछि सौहार्दपुर्ण वातावरणमै आआफ्नो बाटो लाग्ने कुरा बुझेको छु’, नेता पोखरेलले भने, ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो ।’

सोही निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो । लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए । 

 

शुक्रबार​ १३ फागुन २०७८ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया