×

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका आचार्यको निधन, आचार्यको आत्मदाहमा हामी दोषी छौँ : गृहमन्त्री लामिछाने

images

काठमाडौं ।  उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्। आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको बताएका हुन । नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु भन् दुखद भएको लामिछानेले उल्लेख गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका छन। आचार्यले मृत्यु हुनुअघि लेखेको नोटमा लामिछानेसहित नयाँ सांसदहरुलाई सम्बोधन गरेर ‘कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’ भनेका थिए ।

लामिछानेकै पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोशिमा कार्की मंगलबार साँझ अस्पताल पुगेका बेला पनि उनले लामिछानेलाई आफ्नो बारे भनिदिन भनेका थिए ।   मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।

उनका विषयमा गृहमन्त्री लामिछानेले लेखेका छन्-

एउटा नागरिकले  अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम  हो। दु:ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं,  हामीलाई  माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

बुधबार ११ माघ २०७९ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया