×

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग एपिएफ क्लब विजयी

images


भैरहवा (रुपन्देही), ११ माघ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो । 

    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभर सवै विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । उसका लागि दिलशाद अलीले अविजित ३९ रन बनाए । यस्तै मृणाल गुरुङले ३४ तथा विराट भण्डारीले २३ रन बनाए । बलिङतर्फ एपिएफका रमेश कुर्मीले पाँच, भुवन कार्कीले तीन तथा रोहितकुमार पौडेल र मौषम ढकालले एक एक विकेट लिए । 

    एक सय ३४ रनको विजयी लक्ष्य एपिएफ क्लबले २२ दशमलव तीन ओभरमा तीन विकेटको क्षतिमा प्राप्त ग¥यो । एपिएफ क्लबका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५२ रन बनाए । यस्तै पुरन विकले अविजित ३३ तथा लोकेश बमले १६ रन बनाए । बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इकलाख अहमद खाँले एक एक विकेट लिए । रमेश कुर्मी खेलको म्यान अफ दी प्लेयर घोषित भए । समापन कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय प्रतियोगिता काठमाडौँ बाहिर गर्न क्यान प्रतिबद्ध रहेको बताए । भविष्यमा देशका अन्य शहरमा पनि प्रतियोगिता आयोजना गर्दैजाने उनले बताए ।

बिहीबार ११ माघ २०८० ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया