×

कृषि वैज्ञानिक उपाध्यायको संस्मरण ‘गुरूदक्षिणा’ विमोचन

images

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायद्धारा लिखित पुस्तक ‘गुरुदक्षिणा’ प्रकाशित भएको छ । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख समेत रहेका वैज्ञानिक डा.उपाध्यायले आफ्ना स्कूले शक्षि दिने गुरुहरु विद्यालयबारे संस्मरणात्मक पुस्तक प्रकाशित गरेका हुन् । बर्दियाको बगनाहा स्थित चुरे माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सवको अवसरमा उपाध्यायद्वारा लिखित संस्मरणात्मक पुस्तक गुरुदक्षिणाको विमोचन समेत भएको छ । चुरे मा.वि.का पूर्व विद्यार्थी समेत रहेका डा. उपाध्यायद्वारा लिखित पुस्तकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेशसभा सदस्यद्वय जन्मजय तिमिल्सिना र कृष्णा कुश्मा थारु (आस्था) लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए । आफ्ना स्कूले जीवनका गुरुहरुको स्मरण गर्दै पुस्तक प्रकाशन गरेको पुस्तकका लेखक डा. उपाध्यायले बताए । पुस्तकमा चुरे माध्यमिक विद्यालयमा अध्ययनरत छँदा आफूलाई अध्यापन गराउँने शिक्षकहरु कृष्णप्रसाद पौड्याल, मदन ज्ञवाली, राममणि शर्मा, नन्दगोपाल श्रीवास्तव, भोजराज पण्डित, तिलकप्रसाद शर्मा शास्त्री, किरुलाल थारु, रेश्मीराज सुवेदी, सन्तराम बस्याल, ध्रुवबहादुर शाह, फुलराम थारु, गजेन्द्र घर्तीमगर, ओमराज ढुंगाना, दुर्गा जोशी, मक्कुराम थारु, नरहरि बजगाई, कृष्णबहादुर केसी र बुद्धिमान चौधरीबाट परेको छाप, सिकाइका अनुभव र अनुभूतिलाई संस्मरणात्मक रुपमा प्रस्तुत गरिएको छ । सन् २०११ देखि २०१५ सम्म पिएचडीको लागि अष्ट्रेलियामा रहँदा इन्टरनेटका माध्यमबाट चुरेमा अध्ययन गरेका साथीभाई तथा चुरेमा अध्यापन गराएका गुरुहरु फेसबुकमा भेटिएको स्मरण गर्दै डा. उपाध्यायले भने, ‘एकजना गुरुले मलाई गुरुदक्षिणा के पठाउँछौ ? भनेर ठट्टा गर्नुभयो ।

मैले त्यसलाई गम्भीरतापूर्वक लिएँ र भनें, सबै सरहरुको लागि साझा दक्षिणा के हुनसक्छ भनेर सोँच्दैछु । त्यसपछि मैले आफूलाई अध्यापन गराएका सरहरुबारे उहाँहरुले आफूमा छोडेको छापलाई विषयवस्तु बनाएर लेख्नथालें ।’ सामाजिक संजाल फेसवुकमा केहि लेखहरु पोष्ट गरेपछि त्यसमा साथीभाइ र सरहरुले दिएका प्रतिकृयाबाट आफू उत्साहित भएर लेखहरुलाई एउटै पुस्तकमा संग्रहित गर्ने कार्यमा लागेको उनले बताए । आफुले अध्ययन गरेको विद्यालय र गुरुहरुबारे लेख्ने कार्य सकिएपछि तयार भएको पुस्तक सोही विद्यालयमा हस्तान्तरण गर्ने उपर्युक्त समयको खोजीमा आफु रहेको स्मरण गर्दै करिब १२ वर्षको समयावधिमा लेखिएका लेखहरु समावेश गरेर तयार गरिएको पुस्तक विद्यालयको स्वर्णमहोत्सवको अवसरमा लोकार्पण गरेको उनले बताए । समाजमा अनन्त कालसम्म जीवित रहनुपर्ने गुरुहरु समयक्रममा खोजीका विषय नबनुन र खोज्दा कुनै दस्तावेजमा सजिलै भेटिन सकुन् भन्ने उद्देश्यले पुस्तकको प्रकाशन गरिएको बताउँदै उपाध्यायले भने, ‘पुस्तक व्यक्ति विशेषको जीवनी या इतिहास होइन ।

यो स्कूलको वा मेरो स्कूले जीवनको इतिहास पनि होइन । यो मेरो आत्मकथा पनि होइन । यो आफूलाई शिक्षित गराएका गुरु र धुलाम्मे हुञ्जेल लडिबुडी गरेर खेलेको एवम् कक्षाकोठाभित्र ज्ञान सिकेको स्कूलको सम्झना मात्र हो । पढ्दै जाँदा यसमा इतिहास, समाज, जीवन, दर्शन, कर्तव्य, आत्मकथा जस्ता विषयवस्तु पनि भेटिनसक्छन् ।’ चुरे माध्यमिक विद्यालय, बगनाहाबाट २०४६ सालमा एसएलसी दिएका डा. उपाध्यायले विद्यालयबाट विदा भएको ३४ वर्षपछि पुनः स्कूलको स्वर्ण महोत्सव समारोहमा पुगी उक्त पुस्तक विमोचन गराएपछि गुरुहरुलाई सम्मान गर्ने यस्तो आदर्श तरिकाबाट सबै प्रभावित भएको महसुस गरेको कुरा बताए । शिक्षालयबाट विदा भएपछि यसरी शिक्षक र शिक्षलयको सम्झना गर्ने विद्यार्थी विरलै भेटिने भन्दै यो सँस्मरण सबैका बीचमा चर्चाको बिषय बनेको छ । यसैबीच विद्यालयले डा. उपाध्यायलाई उक्त विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गरी विद्यावारिधिसम्मको डिग्री हासिल गरेर यस्तो सँस्मरणात्मक गुरुदक्षिणा शीर्षकको पुस्तक प्रकाशित गरी विद्यालयको श्रीवृद्धि गरेकोमा सगौरव सम्मान पनि गरेको छ ।

आइतबार​ ८ पुस २०८० ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया