×

तीन हजारले लिए निःशुल्क स्वास्थ्य सेवा

images

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), ८ पुस : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य सेवा शिविरमा तीन हजार बढीले सेवा लिएका छन् ।
    
जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहँुचबाट टाढा रहेका स्थानीय नागरिकले शिविरमा स्वास्थ्य जाँच गराएका छन् । प्रतापपुर गाउँपालिका–७ जगरनाथपुरमा रहेको श्री गणेश माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । 
      
शिविरमा बालरोग, स्त्री तथा प्रसुति रोग, नाक, कान, घाँटी, छाला, हाडजोर्नी, आँखा र दाँतलगायत विभिन्न १३ वटा रोगको स्वास्थ्य जाँच गरिएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनुभयो । 

शिविरमा १७ जना विशेषज्ञ चिकित्सकसहित ५४ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सबैभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएका थिए । खासगरी विशेषज्ञ रोगका चिकित्सकको स्वास्थ्य सेवाको पहँुचमा नभएका नागरिकले उक्त सेवा लिएपछि खुसी व्यक्त गरेको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो । 
प्रतापपुर गाउँपालिका र देवदह मेडिकल कलेजको सहकार्यमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको हो । जस्मा प्रतापपुर गाउँपालिका, जिल्ला अस्पताल र केही स्थानीय स्वास्थ्य संस्थाको सहयोगमा करिब रु आठ लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो ।

आइतबार​ ८ पुस २०८० ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया