×

रसिला र प्रिन्सद्वारा उपाधी रक्षा

images



काठमाडौं।   युवा ब्याडमिन्टन खेलाडी द्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधी रक्षा गरेका छन् ।
ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजय प्राप्त गर्दै उपाधी रक्षा गरेका हुन् ।
महिला एकल तर्फ रसिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरेका हुन् । महिला तर्फ पुलिसकी निता लम्साल र सेनाकी रेहना शेरचन तथा पुरुष तर्फ पुलिसका बिष्णु कटुवाल र जीवन आचार्य संयुक्त तेश्रो भए ।
पुरुष युगल (शिर्ष २० बरियता बाहेक) को उपाधी कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले उचाले । उक्त जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१४ ले पराजित गर्दै उपाधी उचालको हुन् । तेश्रो स्थानमा सेनका विवेक चौधरी र पविन लिनथेप तथा नरेन्द्र बम र हिमाल चन्द संयुक्त तेश्रो भए ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको यु – १७ पुरुष तर्फ सेनाका कविर के.सी.ले सेनाकै अभय महरालाई २१–९, २१–४ ले पराजित गर्दै उपाधी हात पारे । तेश्रो स्थानमा गुल्मीका जेनिस शेरचन र सेनाका सुप्रिम पन्थ रहे ।
यस्तै महिला यु – १७ मा कास्कीकी दिलाशा रानालाई २१–१८, २१–१० ले पराजित गर्दै सेनाकी रेहाना शेरचनले उपाधी उचालिन् । तेश्रो स्थानमा ललितपुरकी श्रेया बज्राचार्य र टिशा रानी शाक्य रहे ।
पुरुष ४५ बर्ष माथिको युगल तर्फको खेलमा कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठको जोडीले कास्कीका डोल राज आले र कुस्माका प्रेम गुरुङ्ग लाई २१–१९, २०–२२, २१–१३ ले पराजित गर्दै स्वर्ण हात पारे । पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी र चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडी संयुक्त तेश्रो भए ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी ललितपुर महानगरापालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव बिरेन्द्र बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पुरुष एकल र महिला एकल तर्फ बिजयी खेलाडीहरुले नगद ४० हजार, उपविजयी खेलाडीहरुले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यस्तै तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसैगरि पुरुष युगल तर्फका विजयी जोडीले नगद ४० हजार, उपविजयी जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यु —१७ छात्र÷छात्रा तथा भेट्रान्स युगल तर्फका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजयीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । प्रतियोगिताको खर्च करिव ३० लाख रहेको थियो ।
५ दिन सम्म संचालन भएको प्रतियोगितामा २६७ खेलाडीहरुले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 

आइतबार​ ८ पुस २०८० १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया