×

सत्तारुढ दलको बैठक- प्रधानमन्त्रीमा तीन नेताको आलोपालो, टुंगो भोलि

images

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । बालुवाटारमा आज बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना नै सकिएको हो । तर सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन ।

नेताहरुका अनुसार आइतबार बिहान बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गरिने बताए। प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् ।

‘सुरुमा को प्रधानमन्त्री हुने भन्नेमा देउवा र प्रचण्डको दाबी कायमै छ’, एक नेता भन्छन्, ‘आ–आफ्नो पार्टीमा छलफल गरेर भोलि विहान बस्छौं र सहमति जुटाएर भोलि नै दाबी पेश गर्छौं ।’बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने बताएका छन् । ‘हाम्रो गठबन्धन चुनाव पछाडिको होइन । पुरानै निरन्तरता हो । अहिले म हुँदा संगति हुन्छ, गठबन्धनको भावना पनि कायम हुन्छ,’ उनले देउवालाई भने, ‘अहिले मलाई छाडिदिनुस्, तपाईदेखि तपाईभन्दा तपाईदेखि म हुँदा सहज हुन्छ ।’

बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकारात्मक रहेको भन्दै भोलि विहानसम्म निश्कर्षमा पुगिने विश्वास दिलाए । उनले आजको बैठकमा गठबन्धनलाई निरन्तरता दिनेबारे गम्भीर समिक्षा भएको सुनाए । सरकारको नेतृत्वबारे पनि सहमतिमै टुँगो लगाउने उनको भनाई छ । कार्कीले प्रधानमन्त्रीमा हलो नअड्कने दाबी गरेका छन् । 

उनले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र छलफल जारी रहेको र कुनै विवाद नरहेको पनि बताए । उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको बताए । 

‘भोलिसम्म तपाईंहरु धैर्य गर्नुस्, आलोपालो प्रधानमन्त्रीमा कसले पहिला नेतृत्व गर्ने भन्नेमा हलो अड्किँदैन’, कार्कीले भने, ‘’प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकाङ्क्षा अनुसार कसरी अघि बढाउने भन्ने महत्त्वपूर्ण कुरा हो । त्यसैले गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ’, मन्त्री कार्कीको भनाइ छ ।

उनले छलफल जारी रहेकाले भोलि निर्णयमा पुग्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्णय गरिने बताए । उनले बैठकमा मुलुकलाई अघि बढाउने विषयमा दलहरूले धारणा राखेको भन्दै बैठक सकारात्मक ढङ्गले अघि बढेको बताए ।

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिने छ । त्यसको अघिल्लो दिन प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे खुलेर कुराकानी भएको छ ।


 

शनिबार ९ पुस २०७९ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया