बारा, ८ भदौ — बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ कि बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या अभियोगमा प्रहरीले थप एक बालकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय सिमराले जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने कक्षा ९ मा अध्ययनरत १४ वर्षीया प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक (डिएसपी) दयाकृष्ण भट्टका अनुसार, घटनामा पहिले पक्राउ परेका मुख्य अभियुक्त सुमन थापाले बयानका क्रममा खड्काको समेत संलग्नता रहेको खुलाएपछि अनुसन्धानका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यस पक्राउसँगै गरिमा हत्याकाण्डमा प्रहरी हिरासतमा लिइएका अभियुक्तहरूको सङ्ख्या कुल ८ पुगेको छ। गरिमाको शव फेला परेलगत्तै प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा सुमन थापा र प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि परिवारका तर्फबाट परेको पुरक जाहेरीका आधारमा गत शनिबार प्रहरीले थप ५ जनालाई पक्राउ गरेको थियो। घटनामा अन्य धेरै व्यक्तिको संलग्नता हुनसक्ने आशङ्कामा प्रहरीले सुक्ष्म अनुसन्धान जारी राखेको र पक्राउ परेका अन्य व्यक्तिहरूको नाम भने हाललाई गोप्य राखिएको जनाएको छ।
प्रतिक्रिया