काठमाडौँ। बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको घटनाका नाबालक आरोपितको भिडिओ खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर बालबालिकासम्बन्धी कसुर (फौजदारी कसुर) मा अनुसन्धान अगाडि बढाएको छ।
बालिका हत्या आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको बेला यौन हिंसामा परेका बालबालिकालाई राखिने कोठामै प्रहरी र अन्य व्यक्तिहरूले भिडिओ खिचेका थिए। प्रचलित कानुनअनुसार आरोपित बालबालिकाको पहिचान खुलाउन, फोटो वा भिडिओ सार्वजनिक गर्न पाइँदैन। तर ती बालकले घटनाबारे बताएको संवेदनशील भिडिओ खिचेर सार्वजनिक गरिएको पाइएको थियो।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले भिडिओ खिच्ने र सार्वजनिक गर्ने कार्यमा संलग्न सबैमाथि अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएका छन्। घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालको नेतृत्वमा टोली बारा पुगेको छ।
सिमरा उपमहानगरपालिका–१ मा गत साउन ३१ गते हराएकी तीन वर्षीया बालिकाको शव तीन दिनपछि फेला परेको थियो। उक्त बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुमान छ। घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले हालसम्म ९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया