×

पाँच हजार घुस दिएको घटनाको छानबिन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

images

काठमाडौं । गृहमन्त्री रमेश लेखकले छोराको प्रमाणपत्र समकक्षता प्रमाणीकरणका लागि ५ हजार घुस दिएको घटनाको छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । घटनालाई गम्भीरतापूर्वक लिएको मन्त्री लेखकले बताए । मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै लेखकले घुस बुझाएका सांसद वीरेन्द्र महतोसँग आफूले कुरा गरेको बताए ।


‘छोराको सर्टिफिकेट सम्बन्धमा माननीय सदस्यले ५ हजार रूपैयाँ घुस दिनुपरेको भन्ने सम्बन्धमा मैले व्यक्तिगत रूपमा सोधेर घुस माग्ने व्यक्ति चिनाइदिन आग्रह गरेको छु,’ मन्त्री लेखकले संसदमा भने, ‘तत्काल छानबिन गर्नका लागि प्रहरीलाई निर्देशन दिइएको छ । सरकारले गम्भीरतापूर्वक लिएको छ ।’


यसअघि जसपा नेपालका सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतोले आफूले छोरोको सर्टिफिकेट प्रमाणित गर्न शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमीको एक कार्यालयका एक बिचौलियालाई ५ हजार रुपैयाँ घुस दिएको आइतवार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि भएको छलफलमा भाग लिँदै बताएका थिए ।

बुधबार ९ साउन २०८१ ०७:०९ AM मा प्रकाशित

प्रतिक्रिया