×

रौतहटमा रास्वपा सांसदमाथि दुर्व्यवहार र आक्रमण प्रयास, आरोपीको खोजी तीव्र

images

काठमाडौँ/रौतहट (एजेन्सी) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालोमसी प्रहार गरी दुर्व्यवहार तथा आक्रमणको प्रयास भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद पौडेलमाथि बिहीबार राति गढीमाई नगरपालिका–७, पर्सामा आयोजित 'जनतासँग भेटघाट' कार्यक्रम सकेर फर्किने क्रममा उक्त घटना भएको हो।  

कसरी भयो घटना?

सांसद पौडेलका अनुसार स्थानीय नागरिकका समस्या, मलखाद अभाव लगायतका विषयमा छलफल गर्न आयोजना गरिएको भेटघाट कार्यक्रम सम्पन्न गरी राति करिब ८:१५ बजे चन्द्रनिगाहपुरतर्फ फर्किँदै गर्दा अज्ञात समूहले पछाडिबाट आक्रमण गरेको थियो।

मास्क लगाएका २–३ जनाको समूहमा आएका व्यक्तिहरूले परिचितजस्तै व्यवहार गर्दै र अँगालो हाल्ने बहाना गर्दै सांसद पौडेलको पिठ्युँमा कालोमसी खन्याएर भागेका थिए। घटनालगत्तै स्थानीय र सहयोगीहरूले उनीहरूलाई समात्न खोजे पनि अँध्यारोको फाइदा उठाउँदै आक्रमणकारीहरू नजिकैको उखुबारीतर्फ भाग्न सफल भएका थिए।  

‘मधेसी मुक्ति अभियान’को संलग्नता आशङ्का

मसी प्रहार गर्ने समूहले हातमा रातो झण्डा र पर्चा बोकेको र 'मेचीदेखि महाकालीसम्मको भूभाग मधेसको हो' भन्दै नाराबाजी गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आफूलाई ‘मधेसी मुक्ति अभियान’का कार्यकर्ता दाबी गर्ने समूह यस घटनामा संलग्न रहेको प्रारम्भिक अनुमान गरिएको छ।  

प्रहरी छानबिन र खोजी कार्य तीव्र

घटनापश्चात् तत्काल प्रहरीलाई खबर गरिएको र आक्रमणकारीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको र दोषीहरूलाई चाँडै नियन्त्रणमा लिइने प्रहरी नायब उपरीक्षक (DSP) ले जानकारी दिएका छन्। 

शुक्रबार​ ८ साउन २०८३ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया