×

नेपालमा एमसीसी पूर्ण रुपमा बन्द

images

काठमाडौं । अमेरिकाले नेपाललाई सहयोगस्वरुप दिने भनेको ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) परियोजना रद्द हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि एमसीसी परियोजना पूर्ण रुपमा बन्द हुने भएको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार बुधबार एमसीसीका कर्मचारीहरुको बैठकमा एक कार्यकारी अधिकारप्राप्त कर्मचारीले परियोजना ‘व्यवस्थित रुपमा बन्द’ हुन लागेको बताएका थिए । एलन मस्कको सरकारी दक्षता विमागले एमसीसीमा ‘महत्वपूर्ण कटौती’ गर्न लागेको एक पत्रमार्फत जानकारी दिएपछि यो बैठक भएको थियो । एएफपीले यो पत्र आफूले देखेको बताएको छ ।

एमसीसी परियोजना बन्द भएसँगै नेपालमा अमेरिकी सहयोगमा संचालन हुन लागेका ५० करोड डलर बराबरका परियोजना रोकिनेछन् । एमसीसीले भोलि शुक्रबार एमसीसी साझेदार देशहरुलाई परियोजना ४० दिनभित्र बन्द गरिने जानकारी दिनेछ । यसअघि एलन मस्कको टिमसँग छलफलपछि नेपाल, आइभोरी कोस्ट, मंगोलिया र सेनेगलमा एमसीसी परियोजनालाई निरन्तरता दिन अनुमति दिइएको थियो ।

रोयटर्सका अनुसार एमसीसी बन्द गर्ने निर्णय यसका कर्मचारीलाई इमेलमार्फत डजले जानकारी गराएको छ। डजले अमेरिकी करदाताको पैसा दुरुपयोग भएको भन्दै यो निर्णय लिएको बताइएको छ। एमसीसीका कर्मचारीले बुधबार यो जानकारी पाएका थिए। यसअन्तर्गतका कार्यक्रमहरु बन्द गर्ने र कर्मचारीको संख्या समेत घटाउने निर्णय भएको बताइएको छ।

कर्मचारीलाई सुनाइएको एउटा रेकर्डिङमा भनिएको छ, ‘यो सरकारका लागि विदेशी सहयोग प्राथमिकता होइन र त्यही कारण एमसीसीका काम बन्द गर्न आवश्यक छ’, एक एमसीसीका वरिष्ठ अधिकारीले कर्मचारीलाई भनेका छन्। डजका अधिकारीहरु गत हप्ता एमसीसी कार्यालयमा आएर छलफल गरेका थिए। एमसीसीले भने आधिकारिक रूपमा यसबारे केही भनेको छैन।

ट्रम्प प्रशासनले यसअघि नै यूएसएड बन्द गरिसकेको छ। जसले वार्षिक ४० अर्ब डलर सहयोगमा खर्च गर्दै आएको थियो। एमसीसी अमेरिकी संसद्को कार्यक्रम हो। सन् २००४ मा रिपब्लिकन र डेमोक्रयाट दुवै पार्टीका सांसदहरूले यसलाई समर्थन गरेका थिए। यसको वार्षिक बजेट झण्डै ९० करोड अमेरिकी डलर छ। यसले विकासोन्मुख देशहरुमा विद्युत आपूर्ति सुधार, सडक पहुँच, बजार पहुँचजस्ता परियोजनामा अनुदान दिँदै आएको थियो।

बिहीबार ११ बैशाख २०८२ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया