×

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुनालाई प्रदान

images

काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्षको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ । नेपाली साहित्यमा क्रियाशील भइकन पनि ओझेलमा परेकी नारी स्रष्टालाई प्रदान गरिने यो सम्मानकोे  नगद राशि रु १५ हजार १११ रहेको छ । सो सम्मान नेपाली शिक्षा परिषदकी अध्यक्ष तथा साहित्य साधक रमा शर्माले प्रदान गरेकी हुन् ।

अक्सिजन कविका रुपमा परिचित कवि बालकृष्ण अधिकारीकी बुहारी हुनुहुन्छ यमुना अधिकारी । उनले ससुरालाई स्कुटरमा राखेर नियमित रुपमा साहित्यिक सभा, समारोह, गोष्ठीहरुमा लिएर जाने गर्थिन् । त्यसैको प्रभाव र प्रेरणाले साहित्यिक सिर्जनामा लागेकी यमुनाका हाल बालसाहित्यका सात र गजलसङ्ग्रह प्रकाशित छन् ।
 
गीतकार पुष्पा खनालले वि.सं.२०७५मा आफ्नी आमाको नाममा स्थापना गरेको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट हालसम्म सिर्जना शर्मा, डिक्रा वादी, इन्द्रा गहतराज, प्रतिमा पोखरेल र निर्मला मुरारी सम्मानित भइसकेका छन् ।

सोही कार्यक्रममा गीतकार पुष्पा खनालका दुई गीतको लोकार्पण गरिएको थियो । गायक, सङ्गीतकार तथा सञ्चारकर्मी सरोज कोइरालाले गीत गाएर सार्वजनिक गरेका थिए । कार्यक्रममा गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीले गाएको गीत पनि प्रसारण गरिएको थियो ।
 
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा भएको सम्मान समारोहमा नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल, मुक्तककार प्रकाश घायल र कवि मधु पाठकले पनि मन्तव्य व्यक्त गरेका थिए ।

सोमबार ११ बैशाख २०८० ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया