काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु गर्दैछ । झापाको कचनकवलबाट सुरु हुने अभियान चैत्र ७ गते कञ्चनपुर पुगेर समापन हुने माओवादीले जनाएको छ ।
अभियान सुरु गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ । आइतबार राति नेताहरू कार्यकर्ता र सर्वसाधारणको घरमा बसेका थिए । अभियान अवधिभर कोही पनि होटलमा नबस्ने नीति अन्तर्गत स्थानीयको घरघरमा बास बसेको माओवादी केन्द्र झापाका इन्चार्ज रञ्जित तामाङले बताए । अभियानको शुभारम्भ गर्न अध्यक्ष दाहालसहित उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित नेताहरू झापा पुगेका हुन ।
सोमबार झापाबाट सुरु हुने अभियान मोरङ, सुनसरी हुँदै अघि बढ्नेछ । प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान सञ्चालन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।
राष्ट्रिय महाधिवेशनअघि ६ महिने अभियानमा जुटेको माओवादीले आन्तरिक संगठनलाई बलियो बनाउने नीति लिएको छ । अभियानको कार्यतालिका अनुसार एक दिन एक जिल्लामा कार्यक्रम राखिएको छ । अभियानको स्वरूप जनसभा, चोकसभा अन्तर्क्रिया, जनभेटघाट आदि हुनेछ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने जनाइएको छ ।
अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्धेश्य राखेको छ।
कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रम आयोजना हुने कार्यतालिकामा उल्लेख छ । आज झापाको कचनकवल गाउँपालिकाको बनियानीमा अभियान उदघाटन गरी बाह्रदशी र झापा गाउँपालिकामा भेटघाट, अन्तर्क्रिया तथा सभा आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ । अभियानका क्रममा नेताहरूले दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने बताएका छन् । अभियानअन्तर्गत मंगलबार मोरङ र बिहीबार सुनसरीमा कार्यक्रम छन् ।
फागुन १६मा सप्तरी, १७ मा सिरहा, १८ मा धनुषा, १९ मा महोत्तरी, २१ मा सर्लाही, २२ मा रौतहट, २३ मा बारा र २४ मा पर्सामा कार्यक्रम हुनेछन् । चितवनमा फागुन २५ गते नेताहरूले सम्बोधन गर्नेछन् । त्यस्तै, नवलपुर (नवलपरासी पूर्व)मा फागुन २६ गते जागरण सभा हुनेछ । फागुन २७ मा परासी (नवलपरासी पश्चिम), २८ मा रुपन्देही, चैत २ मा कपिलवस्तु, ३ मा दाङ, ४ मा बाँके, ५ मा बर्दिया, ६ मा कैलाली र ७ मा कञ्चनपुरमा जागरण सभा सञ्चालन हुनेछ ।
प्रतिक्रिया