×

अहिले सरकारतिर होईन, हाम्रो ध्यान जनतातिर छ, आफ्नो वर्ग र समुदायतिर छ- प्रचण्ड

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब कसैसँग गठबन्धन नगरी आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताएका छन् । आजसम्म जो–जोसँग मिलेर चुनाव लडेपनि उनीहरु नै ठूलो दल बनेको र बरु माओवादी आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्दैन भनी दुस्प्रचार गरिएको भन्दै उनले त्यसलाई गत स्थानीय तहको उपनिर्वाचनले खण्डित गरिसकेको र अब कसैसँग गठबन्धन नहुने बताए ।


जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब जनताको तागत र जनतामा चुनाव लडिने बताएका हुन् । उनले भने, ‘हामी अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने एउटा हल्ला, दुस्प्रचार गरिएको थियो ।

हामीले सहकार्य गरेर हामी त ठूलो भएनौं, कांग्रेससँग सहकार्य गरेर पनि माओवादी ठूलो त भएन, एमालेसँग सहकार्य गरेर पनि ठूलो भएन । बरु हामीले जोसँग सहकार्य गर्यौं त्यही पार्टी ठूलो भयो । कहिले कांग्रेस ठूलो भयो, कहिले एमाले ठूलो भयो । हामी जतिबेला सहकार्यमा थिएनौं, त्यो बेलामा ठूलो पार्टी थियौं । त्यसकारण आफ्नै खुट्टामा उभिएर, जनताको तागतको बलमा चुनाव लड्छौं । उपचुनावमा हामी एक नम्बर पार्टी बन्यौं । मैले कांग्रेस र एमालेका नेताहरुलाई भन्ने गरेको छु– तपाईँहरु मिलिराख्नुस् ।’

साथै, माओवादी अब बीचमै सरकारमा सहभागी नहुने उनले बताए । आफूले अहिलेसम्म पुगेका सबै ठाउँबाट फेरि सरकारमा नजाने सुझाव पाएको बताउँदै अध्यक्ष प्रचण्डले आफूहरुको ध्यान जनता र आफ्नो वर्ग, समुदायतिर केन्द्रीत भएको सुनाए । ‘म जति ठाउँमा पुगेको छु, साथीहरुले मलाई सुझाव दिने गर्नुभएको छ–अध्यक्षज्यू कुनै हालतमा यो बीचमा सरकारमा नजानु होला है, सरकारमा नजानुहोला । सबैतिर मलाई सुझाव त्यही नै छ । हामी पनि अहिले सरकारतिर होईन, हाम्रो ध्यान जनतातिर छ, आफ्नो वर्ग र समुदायतिर नै छ,’– उनले भने ।

सोमबार १२ फागुन २०८१ ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया