×

देश जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो कुरा होइन-उपसभापति विश्वप्रकाश शर्मा

images

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको टिप्पणी गरेका छन् । उनले आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरे । मंगलबार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले चुनावी प्रतिस्पर्धालाई मर्यादित बनाउन सबै दलहरूलाई आग्रह गरे ।

“विगतमा फलानाफलानालाई हेरियो यो पाली अर्कोलाई भन्ने कुरा छ । के चुनाव हेर्ने कुरा हो ? चार दिनदेखि लौकाको तरकारी खाइयो कति खानु भनेर घिरौलाको तरकारी खानु हो ? देश जिम्मा लगाउने कुरा भनेको स्वाद फेरेजस्तो कुरा होइन,” शर्माले भने, “विगतमा कसले के भूमिका कसरी निर्वाह गरेको छ ? मुलुकलाई विगतको कुन कालखण्डमा कसले सम्हाल्ने काम गरेको छ ? यो कुरालाई मतदाताले हेर्नुपर्छ ।”

चुनावमा जाँदा विपक्षी दलमाथि गाली–गलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले कतिपय राजनीतिक दलहरूले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने शर्माको भनाइ छ ।

“चुनावमा जाँदै गर्दा विपक्षीलाई गाली नगरिकन जानुपर्छ । चुनाव भनेको युद्धको मैदान होइन । कतिपयहरूले हामी युद्धमा छौँ भन्नुहुन्छ । यहाँ आवेगको कुरा छ, झोकको कुरा छ, रिसको कुरा छ, देखाउँला भन्ने कुरा छ,” शर्माले भने ।

उपसभापति शर्माले जनतालाई ‘गर्छु’ भन्ने भाषणभन्दा ‘गरेको काम’ हेरेर मूल्यांकन गर्न आग्रह गरे। इतिहासमा मुलुक संकटमा पर्दा कांग्रेसले जिम्मेवारी बहन गर्दै निकास दिएको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय गर्न मतदातालाई अपिल गरे।

उनले आफ्नो धारणा स्पष्ट पार्दै फेवा तालमा डुंगा सयरको प्रसंग सुनाए-रहरले डुंगा चलाउन खोज्दा बीचमा हावाहुरी आएपछि अनुभवी चालकलाई नै जिम्मा दिनुपरेको उदाहरण प्रस्तुत गर्दै देश सञ्चालन जस्तो गम्भीर जिम्मेवारी अनुभव र क्षमतासँग जोडिएको विषय भएको बताए।

शर्माले ‘जेनजी आन्दोलन’पछि काँग्रेसभित्र नीति र विधानमै सुधार गरिएको दाबी गरे। राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था विधानमा समावेश गरिएको उल्लेख गर्दै उनले यसलाई संस्थागत रुपान्तरणको संकेतका रूपमा व्याख्या गरे। साथै, निर्वाचनपछि पनि दलहरूबीच राष्ट्रिय मुद्दामा सामूहिक छलफल र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

मङ्गलबार १२ फागुन २०८२ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया