काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तेस्रो दिन शुक्रबार पनि सरकारी निवास बालुवाटारबाट बाहिर ननिस्कने भएका छन्। चिसोका कारण स्वास्थ्यमा समस्या देखिएपछि बुधबारदेखि औपचारिक कार्यक्रममा ननिस्किएका प्रधानमन्त्री ओलीले आजका लागि तय कार्यक्रम पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन्।
स्वास्थ्य अवस्थाका कारण ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्ने भएका हुन् । डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरेको बताइएको छ । चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्नेछन् भने यी कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम थियो । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री ओलीले बिहान ११:१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, दिउँसो १२:१५ बजे तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन र दिउँसो १२:५० बजे सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित सुरूङ मार्गको ब्रेकथ्रु र दिउँसो १:१५ बजे बुटवल-गोरुसिंगे सडक स्तरोन्नति शिलान्यास गर्ने कार्यक्रम छ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली गत मंगलबार रातिसम्म पार्टीको सचिवालय बैठकमा सहभागी भएयता बिरामी परेका हुन्। गत मङ्गलवार बेलुकादेखि प्रधानमन्त्री ओली अस्वस्थ छन् । घाँटीमा समस्या आएपछि उनको स्वर भासिएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया