×

मधेशी भाषामा शपथ खुवाएकोबारे मधेशी आयोगले सोध्यो संसद सचिवालयलाई स्पष्टीकरण

images

काठमाडौं । मधेशी आयोगले जनमत पार्टीका अध्यक्ष डा.सी.के राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई मधेशी भाषामा शपथ लिन मान्यता दिएको भन्दै संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

पुस ७ गतेको संसद भवनमा चन्द्रकान्त राउत (सीके)सहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ‘मधेशी भाषा’मा शपथ लिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले संघीय संसदको सचिवालयलाई शुक्रबार पत्र पठाएकी हुन् ।  

जनमत पार्टीका  अध्यक्षसमेत रहेका सांसद सिके राउत लगायत केही सांसदले मधेशी भाषामा शपथ लिएका थिए। मधेशी भाषामा शपथ लिएपछि राउतविरूद्ध मधेशका विभिन्न ठाउँमा बिहीबार विरोधसमे प्रदर्शन भएको थियो।

संघीय संसद सचिवालयले सांसदहरूले मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरेको थियो। १४ मातृभाषामा २५ सांसदले शपथ लिएका थिए। हालसम्म भाषा आयोग प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू ( २०७८ ’र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय भएको आयोगको भनाइ छ ।

पत्रमा भनिएको छ, ‘ हालसम्म‍ भाषा आयोगबाट प्रकाशित ‘मधेशी भाषा’ सूचीकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधि सभाका सदस्‍यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यामान रहेका सूचीकृत अन्‍य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको देखिन्छ। सो सम्बन्धमा यस आयोगलाई श्री संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्‍यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराइदिन हुन निर्देशानुसार अनुरोध गरिएको छ ।’

शुक्रबार​ ८ पुस २०७९ ०२:२९ PM मा प्रकाशित

प्रतिक्रिया