×

नारायणगढ–मुग्लिङ सडक अनिश्चितकालका लागि बन्द, वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको आग्रह

images

चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डमा आज गएको ठूलो पहिरोका कारण आवागमन पूर्ण रुपमा बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघ-संस्थाहरु तथा यात्रु महानुभावहरुलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रशासनले भनेको छ- 'वैकल्पिक मार्गको रुपमा महोत्तरी जिल्लाको बर्दिवास, मकवानपुर जिल्लाको हेटौंडा, रुपन्देही जिल्लाको बुटवल, नवलपरासी वर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङ्ग जिल्लाको नौविसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग लिनु हुन अनुरोध छ । यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी यकिन गरेर मात्र यात्रा गर्नुहुन एवं सडकमार्गमा रहेका यात्रुहरुलाई कुनै समस्या परेमा सड़क सुरक्षार्थ खटिइएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका सुरक्षाकर्मीहरुसँग सूचना एवं सहयोग लिनुहुन समेत आग्रह गर्दछौं ।'

प्रशासनले तत्कालका लागि यो बाध्यात्मक विकल्प भएको बताउदै सडक खुलाउन हरदम प्रयत्न गरिरहेको उल्लेख गरेको छ । प्रशासनले भनेको छ- 'आवागमन सम्भव भए पश्चात पुनः सूचना गर्ने नै छौं । यस सम्बन्धमा आवश्यक जानकारी एवं सूचनाको लागि जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक श्री रविन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी, मदन लामा थिङ (९८५५०९२२०० ) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी, कृष्ण प्रसाद आचार्य (९८५५०९२२१८) मा सम्पर्क गर्नु हुन समेत अनुरोध छ ।'

मङ्गलबार ७ असोज २०८२ ०७:५४ PM मा प्रकाशित

प्रतिक्रिया