×

काठमाडौँका होस्टेलहरूलाई प्रशासनको १ महिने अन्तिम अल्टिमेटम, नियम मिचे शिलबन्दी गरिने !

images

काठमाडौँ, ७ भदौ (२०८३)। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल) हरूका नाममा २१ बुँदे कडा निर्देशन जारी गर्दै मापदण्ड सुधार्न एक महिनाको अन्तिम अल्टिमेटम दिएको छ । होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, मनलाग्दी चर्को शुल्क असुलिएको, पूर्वाधार अत्यन्तै कमजोर रहेको, अस्वस्थकर खाना खुवाउने गरिएको र होस्टेलभित्रै लागुऔषधको प्रयोग बढेको जस्ता गम्भीर गुनासा तथा उजुरीहरू प्राप्त भएपछि प्रशासनले यो कदम चालेको हो।

प्रशासनका अनुसार हालै गरिएका अनुगमनका क्रममा गम्भीर गल्ती फेला परेका केही होस्टेलहरूलाई ३ लाख रुपैयाँसम्म जरिवाना गरिनुका साथै शिलबन्दी समेत भइसकेको छ।

सबै निजी होस्टेलहरू सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ र आफ्नो शुल्क र दररेट सार्वजनिक गरी तोकिएकै रकम मात्र लिनुपर्नेछ। सञ्चालक र विद्यार्थीबीच तथा घर भाडामा लिइएको भए घरधनीसँग अनिवार्य लिखित सम्झौता हुनुपर्नेछ। सञ्चालक, वार्डेन र विद्यार्थीहरूको अद्यावधिक व्यक्तिगत विवरण नजिकैको प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ। 

कोठा र शौचालय बाहेकका सार्वजनिक तथा संवेदनशील क्षेत्रमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरेको हुनुपर्नेछ र २४सै घण्टा जिम्मेवार वार्डेन तथा सुरक्षा गार्ड खटाउनुपर्नेछ । होस्टेल परिसरभित्र कुनै पनि प्रकारका लागुऔषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । प्रत्येक कोठा फराकिलो, पर्याप्त हावा–प्रकाश छिर्ने हुनुपर्ने, व्यवस्थित पुस्तकालय, अध्ययन कक्ष, इन्टरनेट, आपत्कालीन अग्निनियन्त्रक (फायर एक्स्टिंगुइसर) र प्राथमिक उपचार सामग्री अनिवार्य राखिएको हुनुपर्नेछ।

पछिल्लो समय शंखमुलस्थित एक होस्टेलभित्रै भएको झडपमा विद्यार्थीको मृत्यु भएको घटनालाई समेत गम्भीर रूपमा लिँदै प्रशासनले आन्तरिक सुरक्षा र अनुशासनमा विशेष जोड दिएको छ। होस्टेल रहेको स्थान वरपरका छरछिमेकीलाई बाधा व्यवधान हुने गरी होहल्ला गर्न नपाइने र विद्यार्थीको मानसिक स्वास्थ्यका लागि महिनामा कम्तीमा एक पटक अनुशासन तथा मर्यादासम्बन्धी प्रशिक्षण दिनुपर्ने व्यवस्था गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी खिमराज भुसालले तोकिएको एक महिनाभित्र मापदण्ड पालना नगरे कानुनबमोजिम शिलबन्दी गरिने चेतावनी दिएका छन् । 

आइतबार​ ७ भदौ २०८३ ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया