×

गठबन्धनमा तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई- नेता भट्टराई

images

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताउनुभएको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाउनुभएको हो । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट गर्नुभयो ।

उहाँका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनुपर्ने आह्वान गरिएको छ । प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध, विगतको निर्वाचनमा विजय हासिल गरेको भए निजले गरेका काम राम्रो हुनुपर्ने, चारित्रिक हिसाबले असल र क्षमतावान् हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । बैठकमा विभिन्न प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्दै पार्टी तल्लो तहसम्म पुनःसङ्गठित भएको र विभाजनको खासै असर नपरेको अवगत गराएका छन् ।

बुधबार ९ चैत २०७८ ०५:३६ PM मा प्रकाशित

प्रतिक्रिया