×

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै, कानुन मन्त्रालयमा प्रारम्भिक छलफल

images

मोरङ । प्रदेश १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको पक्रिया सुरु गरेको छ । प्रदेश सरकारले यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रारम्भिक छलफल भएको हो । 

सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको हो । छलफलका क्रममा सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सञ्चार विधेयकले प्रदेश भित्रका सञ्चार माध्यम र सञ्चारकर्मीलाई व्यवस्थित र परिपक्व बनाउनका लागि सरकारले विधेयक ल्याउन लागेको जानकारी दिए । 

मन्त्रालयका कानुन उपसचिव गणेश नायकले बागमती प्रदेश सरकारको सञ्चार विधेयकका आधारमा प्रदेश १ सरकारले विधेयकको तयारी गरेको बताए । छलफलमा सहभागी सञ्चारकर्मी तथा सञ्चार संस्थाका प्रतिनिधिले प्रदेश सरकारले संविधानमा टेकेर प्रेस स्वतन्त्रतालाई अङ्कुश नलगाउने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन् । विधेयकमा ग्रामीण पत्रकारिता, लोककल्याणकरी विज्ञापन, प्रेस प्रतिनिधि कार्ड, सञ्चारकर्मीलाई लेखन वृत्ति तथा प्रोत्साहन, महिला पत्रकार सशक्तीकरण, आदिवासी जनजाति लगायतका सवाललाई जोड दिनुपर्ने बताएका छन् ।

 

बुधबार ११ फागुन २०७८ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया