×

संसद बैठकको अघिल्लो दिन एमसीसी पास गराउने दौडधूपमा नेताहरू

images

काठमाडाैं । अमेरिकी सहयोगको एमसीसी सम्झौताबारे छलफल हुने संसद बैठकको अघिल्लो दिन नेताहरूको दौडधुप बढेको छ ।

एमसीसीबारे छलफल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले बिहीवार दिउँसो १ बजेका लागि संसद बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेका कारण बिहीवारको बैठकमा एमसीसीमाथि कसरी छलफल हुन्छ भन्ने संशय बाँकी नै छ । 

मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार नै गएका थिए । भेटमा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । 

कांग्रेसको तर्फबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र अर्को नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका थिए । कार्की वर्तमान सरकारका मन्त्री पनि हुन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा संसदबाट एमसीसी अनुमोदन गराउने प्रयासमा छन् । त्यसका लागि वातावरण बनाउन उनले कांग्रेसका नेताहरूलाई अन्य राजनीतिक दलका नेताहरूसँग संवाद गर्न खटाएका छन् ।

बुधबार बिहान कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण एमाले अध्यक्ष ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेको थिए । ओली र खाणले करीब आधा घण्टा संवाद गरेका ओलीको सचिवालयले बताएको छ । 

पछिल्लो समय एमाले र कांग्रेसका नेताहरूको संवाद बढेको छ । एमाले एमसीसी विवादकै मौकामा वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयासमा लागेको छ ।

अहिले सत्ता सञ्चालन गरिरहेको ५ दलीय गठबन्धनकै कारण एमालेले केन्द्रदेखि प्रदेशसम्मको सरकार गुमाउनुपरेको थियो । त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधव नेपालको भूमिका महत्त्वपूर्ण थियो । 

लामो रस्साकस्सीबीच संसदमा पुगेको एमसीसीलाई नै प्रयोग गरेर सत्ता गठबन्धनमा भाँजो ल्याउन सकिने बुझाइसहित एमालेले प्रयास गरिरहेको छ ।

अर्कोतर्फ एमाले विपक्षमा उभिएको अवस्थामा संसदबाट एमसीसी अनुमोदन गराउन कठिन हुने भएपछि प्रधानमन्त्रीले पनि एमालेसँग संवाद बढाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एस पार्टीले एमसीसीको विपक्षमा मत जाहेर गर्ने बताएका छन् तर गठबन्धन जोगाउने उपायको रूपमा उनीहरू मध्यमार्गी बाटो खोजिरहेको छन् । 

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग संवाद बढाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एस पार्टीका अध्यक्ष नेपाल प्रधानमन्त्री देउवासँग सशंकित छन् । 

बुधबार ११ फागुन २०७८ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया