चामे (मनाङ) — हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा पहिरो र लेदोका कारण थुनिएको मर्स्याङ्दी नदीलाई नेपाली सेनाको प्राविधिक टोलीले ब्लास्ट (विस्फोट) गरेर खोल्ने प्रयास असफल भएको छ। नदी थुनिएको मुख्य क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्नका लागि उपयुक्त र ठोस चट्टान फेला नपरेपछि तत्कालका लागि विस्फोट गराउने कार्य रोकिएको हो।
ब्लास्ट गर्ने योजना असफल भएपछि स्थानीय प्रशासनले दुई वटा ठूला हेभी उपकरण (डोजर/एक्साभेटर) प्रयोग गरेर नदी खोतल्ने र बहावलाई खुलाउने बैकल्पिक प्रयास सुरु गरेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट नेपाली सेनाको विशेष प्राविधिक टोली आवश्यक बन्दोबस्तसहित चामे पुगेको थियो। तर, स्थलगत निरीक्षण गर्दा प्राविधिक रूपमा ब्लास्ट गर्न सम्भव देखिएन।
ब्लास्ट गरेर अवरोध पन्छाउनका लागि बलियो र ठूलो चट्टानी भाग हुनुपर्छ। तर, मर्स्याङ्दी थुनिएको क्षेत्रमा घट्टेखोलाबाट बगेर आएको ढुङ्गा, गिट्टी, बालुवा, रुखका लगहरू, माटो र बाक्लो लेदो मात्रै थुप्रिएको छ।
लेदो र खुकुलो माटोको थुप्रो धेरै भएका कारण विस्फोटक पदार्थ राख्ने 'होल' (प्वाल) बनाउन समेत समस्या भएको सुरक्षा निकायले जनाएको छ। खुकुलो ठाउँमा ब्लास्ट गर्दा माटो थप धसिएर नदी झनै थुनिन सक्ने जोखिम समेत देखिएको थियो।
अविरल वर्षाका कारण स्थानीय घट्टेखोलाको माथिल्लो डाँडा भासिएर आएको बाढीले मर्स्याङ्दी नदी थुनेपछि चामे क्षेत्रमा एउटा ठूलो अस्थायी ताल बनेको छ। प्रशासनका अनुसार अहिले नदी थुनिएको स्थानमा करिब ४ सय मिटर लामो र ८० मिटर चौडाइको विशाल ताल बनेको छ। यो ताल करिब २० फिटसम्म गहिरो रहेको अनुमान गरिएको छ।
सो तालका कारण चामेबाट उपल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदीमाथिको मुख्य पक्की पुल आधा डुबेको छ भने नदी किनारका ८ देखि १० वटा होटल तथा सर्वसाधारणका घरहरू पानीमा डुबेका छन्। थोराङला पास र उपल्लो मनाङतर्फ गएका विदेशी तथा आन्तरिक पर्यटकहरू पुल तर्न नसक्दा बीच बाटोमै अलपत्र परेका छन्।
ब्लास्ट गर्ने प्रयास रोकिएपछि सोमबारदेखि नै दुई वटा हेभी मेसिन प्रयोग गरेर थुप्रिएको लेदो र ढुङ्गा खोतल्ने काम भइरहेको छ। खोतल्ने कार्य सुरु भएसँगै तालबाट आंशिक रूपमा पानी सुरक्षित रूपमा बग्न थालेको छ, जसले गर्दा नदीको जलसतह केही घटेको छ र तत्कालै ताल फुट्ने ठूलो जोखिम टरेको छ।
विगत चार दिनदेखिको अविरल वर्षा र बाढीका कारण मनाङका विभिन्न क्षेत्रमा विद्युत्, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक र सञ्चार ठप्प हुँदा उद्धार कार्य र विस्थापितका लागि खाद्यान्न व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नदीको बहाव पूर्ण रूपमा सामान्य नभएसम्म मर्स्याङ्दी कोरिडोर र तल्लो तटीय क्षेत्र (लमजुङ र तनहुँ) का बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान अपिल गरिरहेका छन्।
प्रतिक्रिया