×

आइसिसी क्रिकेट लिग–२ : नामिबियाद्वारा नेदरल्यान्ड्स पराजित

images

काठमाडौँ, ११ फागुन : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रन बनायो । जितका लागि दुई सय चार रनको लक्ष्य पच्छाएको नेदरल्यान्ड्स ४३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनमा समेटियो । 

    नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्का हाने । यसैगरी मलान क्रुगरले ३९, ज्यान फ्राई लिङ्कले ३४, रुबेन ट्रम्पप्लेमानले २३ तथा जान ग्रिनले २२ रन बनाए । कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे ।

    बलिङतर्फ नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमाले तीन, आर्यन दत्त र रुलफÞ भ्यान डर मर्वाले दुई दुई तथा शारिज अहमद र बास डे लिडले  एक एक विकेट लिए ।

    यस्तै नेदरल्यान्ड्सका लागि ब्याटिङ गर्ने क्रममा नोआ क्रोसले सर्वाधिक अविजित ४६ रन बनाए । उनले ५६ बल खेल्ने क्रममा तीन चौका हाने । यसैगरी म्याक्स ओडाउडले ४१ रन, बास डे लिडले २४ तथा शारिज अहमदले १९ रन बनाए ।

    बलिङतर्फ नामिबियाका ज्यान फ्राई लिङ्क र जेहार्ड इरासमसले तीन तीन, बर्नार्ड स्कोल्जले दुई तथा रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टी इटनले  एक एक विकेट लिए । 

    जितसँगै नामिबियाले चार खेलमा ६ अङ्क जोडेको छ । नामिबिया लिग–२ को शीर्षस्थानमा उक्लिएको छ । नेपाल र नेदरल्यान्ड्सको भने तीन खेलमा दुई दुई अङ्क छ । अब जारी शृङ्खलाको अन्तिम खेल नेपालले नेदरल्यान्ड्ससँग यही फागुन १३ गते खेल्नेछ । 

शुक्रबार​ ११ फागुन २०८० ०९:१३ PM मा प्रकाशित

प्रतिक्रिया