×

नेप्सेमा ५७.७४ अंकको गिरावट, ४० भन्दा बढी लघुवित्तको शेयर नकारात्मक सर्किट

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्तलाई दिएको कडा निर्देशनका कारण शेयरमूल्य उच्च दरले घटेको छ। बिहीबार लघुवित्त उपसूचकमा पहिरो गयो । जसका कारण समग्र सेयर बजारमा ५७.७४ अंकको गिरावट आएको छ । लघुवित्तमा मात्र ९.५४ अंकको गिरावट आएको छ । ३९ वटा कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लेवलमा कारोबार भयो । यसरी घट्नेमा सबै लघुवित्त कम्पनी छन् । यस दिन ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेसँगै यस दिन लघुवित्त उपसमूहको परिसूचक पनि उच्च दरले घटेको छ। यस दिन सो उपसमूहको परिसूचक सर्वाकि ९.५४ प्रतिशत घटेको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.७८ प्रतिशत अर्थात ५७.७४ अंक घटेर २०२२.६४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९५ अंक, फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २६० स्टकको ४८ हजार १०५ पटकको कारोबारमा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन २३ स्टकको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये नेपाल हाइड्रो डेभलोपर्स र सापलिङ्ग पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन छिमेक लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ८ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया र हिमालयन डिष्टिलरीको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार ११ फागुन २०७९ ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया