×

आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सम्पन्न

images


काठमाडौँ, ६ पुस : नेपाल पुलिस स्कुल साँगामा सञ्चालित २९औँ अन्तर माध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टोलीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरुको प्रतिभालाई उजार गर्नुका साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यावहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकाले विद्यार्थीको वौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्ने बताउनुभयो । 

विद्यार्थीको शैक्षिक गुणस्तरलाई उच्च राख्दै अभिभावकको चाहना र राष्ट्रको आवश्यक पूरा गर्न दत्तचित भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले प्रतियोगिताका रनरअप टोलीलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । साथै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेकेण्ड रनरअप टोलीलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।  

आज भएको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा  ३–० गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुर प्रथम, ल्याबोरेटोरी स्कुल कीर्तिपुर द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजार, द्वितीय हुने टोलीले रु ४० हजार र तृतीय हुनेले रु ३० हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रहरी नायब महानिरीक्षक केदार ढकालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीद्वारा नृत्य तथा नेपाल प्रहरी सङ्गीत विद्यालयद्वारा ब्यान्ड ‘डिस्प्ले’ गरिएको थियो ।   

गत मङ्सिर २० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टोली, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालयलगायत काठमाडौँ, भक्तपुर, ललितपुर तथा काभ्रेका गरी जम्मा १६ विद्यालयका १७  टोलीको सहभागिता रहेको थियो ।  
    
    प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, प्रहरी अधिकृत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थी, अभिभावक, स्थानीय बासिन्दा, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार​ ६ पुस २०८० ०६:३० PM मा प्रकाशित

प्रतिक्रिया