×

२५ औँ पोखरा सडक महोत्सव हुँदै

images


काठमाडौँ, ६ पुस : नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ पोखरा सडक महोत्सव हुने भएको छ ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५ औँ पोखरा सडक महोत्सव हुन लागेको हो । रेवान पोखराले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पाँच दिन चल्ने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकलगायतका कार्यक्रम हुनेछन्”, उहाँले भन्नुभयो ।

महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सव पोखराको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्मको करिब तीन किमी क्षेत्रमा हुने जानकारी दिनुभयो । महोत्सवमा पोखरा पर्यटनको विकास प्रवद्र्धन, अवसर र चुनौतीको विषयमा केन्द्रित टक शो कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

सडक महोत्सवमा जाने पर्यटकलाई बसोबासको लागि पोखराका एक हजार दुई सयभन्दा बढी होटलमा ४० हजार श्यया उपलब्ध रहेको रेवान पोखराले जनाएको छ । चारदेखि पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवको अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा ७० लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ ।

महोत्सवमा नेपालका वरिष्ठ कलाकार पशुपति शर्मा, प्रीति आले, बद्री पङ्गेनीलगायतका कलाकारले प्रस्तुति रहनेछ । यस्तै, महोत्सवले पर्यटकीय नगरी पोखराको अर्थतन्त्रलाई चलायमान बनाउने बताइएको छ ।

नेपाल पर्यटन वोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले यस्ता सडक महोत्सवलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले पोखराको सडक महोत्सवले देशव्यापी सन्देश दिने स्पष्ट पार्नुभयो ।

रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले मुलुकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
–––

शुक्रबार​ ६ पुस २०८० ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया