काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले आसन्न दिनहरूमा चरणबद्ध रूपमा शान्तिपूर्ण विरोध, धर्ना र जनसभाहरू सञ्चालन गर्ने निर्णय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर १० गते देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ ।
मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान हुने छन् भने मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम रहेको बस्नेतले जानकारी दिए ।
त्यस्तै मंसिर २७ देखि पौष ४ गतेसम्म देशभर जिल्ला-स्तरीय विरोध सभा तथा जनसभा आयोजना गर्नेछ । प्रदेश-स्तरीय जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भने पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ नेपालगन्ज/भैरहवामा गर्ने तय भएको छ ।
बस्नेतका अनुसार आवश्यकता अनुसार थप विरोध कार्यक्रमहरू सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया