×

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

images

काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग पनि लिइने भएको छ ।

यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार, उनीहरु विदेशमा भएको आशंकासहित इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरिएको हो ।

सीआईबीको पत्रका आधारमा अब प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेख्ने तयारी गरेको छ । इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन् । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ । बर्दिया घर भएका भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ ।

उनले गुरुङबाट पनि रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा  गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेको भेटिएको छ ।


 

मङ्गलबार ६ कात्तिक २०८१ ०१:१२ PM मा प्रकाशित

प्रतिक्रिया