×

सहकारी ठगी प्रकरण- जीबी राई र रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ,रवि निगरानीमा

images

काठमाडौं। सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

संसदीय समितिले कारबाही सिफारिस गरेको तत्कालीन प्रवन्ध निर्देशक रहेका रास्वपा सभापति लामिछाने पनि प्रहरीको निगरानीमा रहेको स्रोतले जनाएको छ। कास्की प्रहरीको पत्रका आधारमा काठमाडाै‌ं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई शं‍खमूलबाट पक्राउ गरेको हाे । प्रहरी स्रोतका अनुसार उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ ।

सहकारीबाट ६५ करोड ५४ लाख ग्लोबल आईएमई बैंकको खाता नम्बर ०४०१०१००००५७७ मा आएको थियो, जीबी, रवि, छविको नाम, ठेगाना, तीनपुस्ते, फोटो, औंठाछाप र हस्ताक्षरसहित यो खाता खोलिएको थियो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन भन्छ– हस्ताक्षर जसको चल्छ, खाता उसैको हो । उक्त खाता गोर्खा मिडियाका कार्यकारी अध्यक्ष जीबी राई, सञ्चालक रवि लामिछाने र छविलाल जोशीमध्ये एकको हस्ताक्षरसहित कम्पनीको छापमा सञ्चालन हुन्थ्यो ।

सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उक्त खातामा सहकारीबाट धमाधम पैसा आउने गरेको थियो । 'सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ।’

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लेखेको पत्र समेतका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जरुरी पूर्जी थमाएर जोशीलाई नियन्त्रणमा लिएको एक अधिकृतले बताए ।

उनका अनुसार, जोशीलाई आइतबार साँझै विमानमार्फत पोखरा लैजाने तयारी छ । कुनै कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नगर्दा ‘त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा प्रमाण नष्ट गर्ने अवस्था भए’ जरुरी पक्राउ पूर्जी लिएर व्यक्तिलाई पक्राउ गर्न सक्ने अधिकार प्रहरीलाई छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

सिफारिसमा परेकामध्ये राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी छ भने रम्तेल पुर्पक्षका लागि थुनामा छन् । बाँकी रहेका जोशी र लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

आइतबार​ ६ असोज २०८१ ०७:४९ PM मा प्रकाशित

प्रतिक्रिया