×

शंखमुल होस्टल हत्याका फरार अभियुक्त पटेल मकवानपुरबाट पक्राउ, सामान्य विवादमै ज्यान गएको पुष्टि

images

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० शंखमुलस्थित 'भ्याली ब्वाइज होस्टल' मा २२ वर्षीय युवा वसन्त कालाथोकीको हत्या उनकै साथीहरूबीचको सामान्य विवादका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दाङको घोराही उपमहानगरपालिका-१७ घर भई सोही होस्टलमा बस्दै आएका कालाथोकीमाथि शुक्रबार बिहान उनकै साथीहरूले कुटपिट गरी धारिलो हतियार प्रहार गरेका थिए।

टाउको र घाँटीमा गहिरो चोट लागेका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूका अनुसार प्रारम्भिक रूपमा आरोपित र मृतकबीच कुनै पुरानो ठूलो दुश्मनी वा रिसइबी फेला परेको छैन।

होस्टलमै सँगै बस्ने युवाहरूबीच बिहीबार राति वा शुक्रबार बिहान कुनै सामान्य विषयलाई लिएर भनाभन भएको थियो । सोही विवाद बढ्दै जाँदा आवेशमा आएर दुई जना युवाले कालाथोकीमाथि लाठी मुक्कासहित धारिलो हतियार प्रहार गरी क्रूरतापूर्वक हत्या गरेको उल्लेख छ ।

घटनालगत्तै सक्रिय भएको जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त नयाँ बानेश्वरको टोलीले हत्यामा संलग्न मुख्य दुवै अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको छ ।

घटनालगत्तै भाग्न खोजेका मुख्य आरोपी बाराको कलैया उपमहानगरपालिका-३ का १८ वर्षीय शेखर यादवलाई प्रहरीले शंखमुल क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो । आक्रमणपछि काठमाडौँ उपत्यकाबाट फरार भएका बाराकै कलैया बस्ने २० वर्षीय प्रमित पटेललाई प्रहरीले मकवानपुरको भैँसेबाट पक्राउ गरेको छ । घटना हुँदा होस्टलमै रहेका र विवादबारे जानकार ठानिएका अन्य ५ जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

काठमाडौँको मुटु मानिने शंखमुल क्षेत्रको होस्टलभित्रै दिनदहाडै हतियार प्रहार गरी युवकको ज्यान लिइएपछि विद्यार्थी र अभिभावकहरू त्रसित बनेका छन्। प्रहरीले पक्राउ परेका यादव र पटेलविरुद्ध कर्तव्य ज्यान (मर्डर) को कसुरमा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ र रिपोर्ट आएपछि थप प्राविधिक विवरणहरू खुल्ने प्रहरीले जनाएको छ।

शनिबार ६ भदौ २०८३ ०९:०२ AM मा प्रकाशित

प्रतिक्रिया