×

धरानको जंगलमा बीभत्स अवस्थामा जेब्रा झोलामा भेटिएको शवको पहिचान, २ जना आरोपी पक्राउ

images

सुनसरीको धरान–४ को जंगलमा बीभत्स अवस्थामा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले जानकारी दिए ।

फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान-४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोलामा प्याक गरिएको अवस्थामा एक पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो। जंगलमा घाँस काट्न गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा डग स्निफिङको टोली खटिएको थियो। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विशेषज्ञ चिकित्सक पनि खटिएका थिए।त्यसपछि प्रहरीले टाउको र खुट्टालाई प्रतिष्ठानको शव गृहमा लगेको थियो। त्यसकै भोलिपल्ट बाँकी अंग खोज्न प्रहरीको टोली खटिएको थियो।

सो टोलीले गत बिहीबार बिहान ५ गते उत्तर धरधरे भन्ने स्थानमा अर्को झोला फेला पार्‍यो। त्यस झोलामा बाँकी शरीर पनि फेला परेको थियो। शरीरका पूर्ण भाग फेला परे पनि ती पुरूषको सनाखत हुन नसके पछि प्रहरी उनको स्केच सार्वजनिक गरेको थियो। सुनसरी प्रहरीका अनुसार सोमबार उनका परिवारका सदस्य आएर मृतक दिपक सिग्देल भएको पुष्टि गरेका हुन्। एसपी थापाका अनुसार वैदेशिक रोजगारीबाट फर्केका दिपक घरबाट बाहिर हिँडिरहने गर्थे।

यसपटक कहिलेदेखि घरमा सम्पर्कविहीन थिए भन्ने खुलिनसकेको एसपी थापाले बताए। ‘हिजो सनाखत भएको छ, थप अनुसन्धान जारी छ’, उनले भने। उक्त घटनामा संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।

मङ्गलबार १० फागुन २०७८ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया