काठमाडौं । रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई भोलि विहान उपस्थित् हुनेगरि श्रीमती निकिता पौडेलको जिम्मा लगाउने आदेश दिएको छ ।
आज थुनछेक बहस नै सुरु नभएपछि लामिछानेलाई अदालतले श्रीमती र आफ्नो कानून व्यवसायीको जिम्मा लगाएको हो । यद्धपी लामिछानेलाई भोलि विहान १० बजे नै अदालतमा उपस्थित् गराउन अदालतले भनेको छ । बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएकोमा बयानका लागि मंगलबार नै उनी भैरहवा पुगेका थिए।
लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्। बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।
प्रतिक्रिया