×

पर्यटन प्रवर्द्धन गर्न तेह्रकुने सिमसार महोत्सव

images



फिक्कल (इलाम), ५ पुस : इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा यही पुस तेस्रो साता महोत्सव हुने भएको छ । माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने सिमसार क्षेत्रमा े पुस १७ देखि २० गतेसम्म ‘तेस्रो तेह्रकुने सिमसार महोत्सव’ हुन लागेको हो । 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको तयारी तीव्र पारिएको आयोजक समितिका अध्यक्ष करसिंह राईले जानकारी दिनुभयो । भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । “चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो”, अध्यक्ष राईले भन्नुभयो ।

चार दिनसम्म चल्ने उक्त महोत्सवमा पुरुष र महिला फुटबल प्रतियोगिता, स्थानीय वेशभूषा तथा कला संस्कृतिको प्रदर्शन, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको प्रवद्र्धनात्मक कार्यक्रम गरिने छ । महोत्सवमा त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (खुकुराको मासुको विशेष परिकार) केरा, सिमलको विभिन्न परिकार उपलब्ध गराइने अध्यक्ष राईले बताउनुभयो । तेह्रकुने सिमसार क्षेत्रमा २०७८ यता प्रत्येक वर्ष महोत्सव आयोजना गरिँदै आएको छ । 
 

बिहीबार ५ पुस २०८० ०५:२१ PM मा प्रकाशित

प्रतिक्रिया