×

सीप सिकेर स्वरोजगार बन्दै महिला

images


घोराही (दाङ), ५ पुस : दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन् । 

आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको घोराही उपमहानगरपालिका–१४ कपासीका उमेरले ५० वर्ष पुग्नुभएका मीना ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’ यस अघि उहाँले सुइटर, टोपी, मोजा लगायत बुन्न सिकेको बताउनुभयो ।

      प्रशिक्षण केन्द्रले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्नका लागि ऊनबाट बन्ने घर सजावटका सामग्री, खेलौना लगायतका सामग्री बुन्ने सीप प्रदान गरेको छ । केन्द्रमार्फत अन्य समयमा पनि विभिन्न बुनाई सम्बन्धी सीपयुक्त तालिम सञ्चालन भइरहन्छ । 

      यसअघि आफूले सुइटर, मोजा, टोपी बुन्न सिकीसकेको ओलीको भनाइ छ । अब सीप सिकेर ऊनबाट निर्माण हुने विभिन्न प्रकारका डल बुनेर बजारसम्म लैजाने तयारी आफुहरुको रहेको उहाँले बताउनुभयो । “यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ”, उहाँ थप्नुभयो, “सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ ।” यसअघि चुलोचौको र पानीपँधेरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जन गरी आत्मनिर्भरको बाटो रोजेका छन् ।

घोराही उपमहानगरपालिका–१६ मघईका ३५ वर्षीया चमेली चौधरीले पनि मङ्सिर ७ गतेदेखि ऊनका सामग्री बनाउन सिक्दै आउनुभएको छ । अघिपछि घरमा त्यसै बस्दा आर्थिकरुपमा कसरी सशक्त हुन सकिन्छ भन्ने मात्रै सोचाइ आउँथ्यो तर अहिले व्यस्त हुँदा कुनै नकारात्मक कुरा सोच्नेसमेत समय नहुने गरेको बताउनुभयो । यो अबधिमा पनि धेरै कुरा सिक्न पाएको उहाँको भनाइ छ । फुर्सदको समयलाई सीपमूलक काममा लगाइयोे भने जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको आशा रहेको छ । 

महिलालाई आत्मनिर्भर बनाउन स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रका प्रमुख प्रशिक्षक रचना सुवेदी र विमला चौधरीले सीप सिकाउँदै आउनुभएको छ । केन्द्रमा हाल १५÷१६ जना महिलाले सीप सिक्दै आएका छन् । प्रशिक्षक सुवेदीे सीप सिकेर व्यावसायिक रुपले अगाडि बढाउन प्रशिक्षार्थीलाई आग्रह गर्नुहुन्छ । सिकेको सीपले बजारमा पाइने रेडिमेटभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने उहाँको अनुभव छ ।

      “सुवेदीले सीप सिकेर उत्पादन गरेका वस्तु बिक्रीका लागि जिल्लामा बजारको केही समस्या छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले यसको बजारीकरणको लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो । हाल यही समस्या रहेकाले मुख्य कुरा बजारीकरणको लागि हरेक निकायले पहल गरिदिए सहज हुने उहाँको भनाइ छ । साथै आयआर्जन न्यून भएका धेरै महिला सीप सिक्नबाट वञ्चित हुँदा सरकारले पनि महिलालाई स्वरोजगार बनाउन ध्यान दिन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । कतिपय महिलाले सीप सिक्न आउँदा दैनिक मजदुरी नै छुट्ने समस्या बताउने गरेको प्रशिक्षक सुवेदीको बताउनुहुन्छ । प्रशिक्षक सुवेदीले २०६९ सालदेखि प्रशिक्षकको काम गर्दै आउनुभएको छ ।  

ऊनका सामग्री बनाएर विपन्न तथा आर्थिकरुपमा पछि परेका महिलाको आयआर्जनमा सुधार ल्याउने हिसाबले सीप प्रदान गरिएको अर्का प्रशिक्षक विमला चौधरीले बताउनुभयो । एक महिनासम्म महिलालाई ऊनको धागोबाट विभिन्न प्रकारका खेलौना तथा घर सजावटका सामग्री बुन्न सिकाइरहेको उहाँको भनाइ छ । तालिमप्रश्चात् प्रशिक्षार्थीले उत्पादन गरेका सामग्रीलाई आफुले काठमाडौँ लगेर बजारीकरण गरिदिने उहाँ बताउनुहुन्छ ।

बिहीबार ५ पुस २०८० ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया