×

कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने

images

काठमाडौँ ५ मङ्सिर  : नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ ।

कांग्रेस पदाधिकारीको आज बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले  वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर टहरा बनाउनुपर्ने सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा भूकम्पप्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि हालै फर्कनुभएका कांग्रेस उपसभापति तथा उप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पार्टीका महामन्त्री गगनकुमार थापाले प्रभावित क्षेत्रको बस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो ।

कांग्रेसले सो क्षेत्रमा तत्काल टहरा बनाउनका लागि जनशक्ति कमी देखिने भएपछि पार्टीमा आबद्ध इञ्जिनियर, ओभरसियर, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल सम्मिलित संयुक्त टोली पठाउने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो । कांग्रेसले तत्काल १०÷१० जना रहेको २५ टोली प्रभावित क्षेत्रमा तत्काल पठाउने जनाएको छ ।

मङ्गलबार ५ मंसिर २०८० ०७:३७ AM मा प्रकाशित

प्रतिक्रिया